१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


माधव नेपालकाे व्यंग्य, ‘प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्नुहोला, ध्यान दिन लायक छ’


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरू महत्वपूर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाव दिनुभएको छ ।

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरूसँग गरेको अन्र्तक्रियामा बोल्दै नेता नेपालले सधँै संस्कार र मर्यादाका कुरा गर्नेले नै अरूको मर्यादा राख्न नसकेको धारणा राख्नुभएको हो । उहाँले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुसरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आइतबार र सोमबारका भाषणहरू रेकर्ड गरेर राख्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरूले सम्मानपूर्ण सम्बोधन र भाषा प्रयोग नगरेको भन्दै बेला–बेलामा संस्कार र संस्कृतिका कुरा गर्दै आउनुभएको छ । उहाँले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा विपक्षी गठबन्धनका नेतासँगै नेता नेपालको तिखो आलोचना गर्नुभएको थियो । उहाँले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बहुलाहा कुकुरले टोकेको छ र भन्दै कटाक्ष गर्नुभएको थियो ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यानदिन लायक रहेको भन्दै व्यंग्य गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हामी आफैँ संस्कृति र संस्कारको कुरा गर्छौँ । हामी अरुको मान–सम्मानको कुरा गर्छौँ । तर, हामी आफैँ त्यस्तो गर्छौँ । यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरी आज र हिजोको हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूको अभिव्यक्ति ।’

‘उहाँको भाषण तपाईंहरू सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ । हिजोको पनि आजको पनि । म पनि खोजिरहेको छु । सबै कुराहरु ध्यान दिनुपर्ने खालको रहेछ । सबैले सिक्नै पर्छ ।’ उहाँले भन्नुभयो, ‘पोजेटिभ सिकौँ या नेगेटिभ सिकौँ । सिक्नुचाहिँ पर्छ । माथि कस्तो छ त्यसको असर तल पर्छ । ‘मलाई बहुलाहा कुकुरले टोकेको छ र भनेर कति राम्रा कुरा गर्नुभएको छ उहाँले सबैको ध्यान जाओस् ।’