
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।
शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन् ।
विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् । अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ ।
यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ ।
सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, “अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवाण्डाको जनशक्ति घटेको छ, त्यसबाट हामी चौथोबाट तेस्रोमा उक्लिएका हौँ । नेपालसँग सयुंक्त राष्ट्रसङ्घले केही समयअघि थप ४५० शान्ति सैनिकको माग पनि गरेको छ ।”
सन् १९५८ मा लेबनानबाट विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाउन शुरु गरिएको हो ।
विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पु¥याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति (युएन) पदक प्राप्त गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्