२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धानमा आत्मनिर्भर हुन सके मात्र समृद्धि आउँछ– कृषिमन्त्री नेम्वाङ


0
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताउनुभएको छ ।

मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशका समृद्धि हासिल हुने बताउनुभएको हो ।

मन्त्री नेम्वाङले कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनुभयो । देशको समृद्धिको मुल आधार कृषि क्षेत्र भएको उहाँको भनाइ छ ।

मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेको उहाँले उल्लेख गर्नुभयो । धान बालीको विकासका लागि कुनै नीतिगत विषय निर्णय गर्नुपर्ने अवस्थामा मन्त्रालय तयार रहेको उहाँको भनाइ छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले चालू आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको उल्लेख गर्नुभयो । मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै उहाँले आगामी वर्ष ६० लाख मेट्रिक टन धान फलाउनुपर्ने बताउनुभयो । उहाँले कृषकको खेतबारीमै पुगेर धान सम्बन्धी अध्ययन, अनुसन्धान तथा कृषि सम्बन्धी शिक्षा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले रासायनिक मलको कारखाना खोल्ने कामलाई अगाडी बढाएको उहाँले बताउनुभयो । कृषिको विकास तथा विस्तारका लागि स्थानीय तहले कार्यक्रमहरु केन्द्रीत गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।