
पर्वत । सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरेका कारण गए रातिदेखि नैसडक अवरुद्ध बनेको हो ।
उक्त स्थानमा सडक भन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध बनेको छ । सडकको दुवै तर्फबाट हटाउने प्रयास भइरहेपनि सडक खुल्न मंगलबार बेलुकासम्म लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।
सडक अवरुद्ध भएपछि विभिन्न मालवाहक ढुवानीका सवारी साधन सँगै एम्बुलेन्स सेवा समेत प्रभावित बनेको छ । कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका स्थानबाट थप उपचारका लागि पोखरा लैजानुनपर्ने विरामीहरू प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारणहरू पनि मर्कामा परेका छन् ।
मंगलबार साँझसम्म सडक एकतर्फी खुलाउन सकिने सम्भावना रहेको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । दुईतर्फी खुलाउन भने समय लाग्ने उहाँको भनाइ छ ।
सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु पर्वतको नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु पनि गन्तव्यमा पुग्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्