
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराउनुभएको छ ।
जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई त्यस्तो गल्ती नदोहोर्याउन सचेत गराउनुभएको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले मंगलबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले जातिय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वयं प्रहरी कार्यालय पुगेको र आफ्नै सवारीसाधनमा चढाएर लगेको प्रसंग उल्लेख गर्दै कानुन कार्यान्वयमा संदेह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै ध्यानाकर्षण गराएको बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्रभाग्यपूर्ण भन्दै टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीले त्यस्तो कार्य गर्नु दुर्भाग्यपूर्ण हो, राम्रो काम होइन । हिजो पनि सम्माननीय प्रधानमन्त्री ज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गराउनुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् । यो काम जुन तपाईले गर्नुभयो , त्यो ठिक भएन भन्नुभएको छ । यसमा प्रधानमन्त्री स्वयम्को पनि ध्यानाकर्षण भएको छ ।’
संञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिनुभएको थियो । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्