१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एभोकाडो र किवीसँगै इलाममा ड्रागन फलको व्यावसायिक खेती सुरु


0
Shares

प्रकाश लिम्बु
धनकुटा । पछिल्लो समय धनकुटामा एभोकाडो, किवी फलसँगै ड्रागन फल पनि भित्रिएको छ । केही समयअघि मात्र नेपाल भित्रिएको ड्रागन फलको धनकुटामा व्यावसायिक खेती सुरु गरिएको हो । धनकुटा नगरपालिका–८ सान्ताङका किसान अम्बर राईले ड्रागन फलको खेती सुरु गर्नुभएको तीन वर्ष भयो ।

१४ वर्षअघि वैदेशिक रोजगारमा जाँदा ड्रागन फलको खेती देखेका राई त्यतिबेला नै यसको खेतीबाट आम्दानी गर्न सकिने टुङ्गोमा पुग्नुभएको थियो । तर, तीन वर्ष अघिमात्र उहाँले १२ रोपनी जग्गामा यसको खेती सुरु गर्न थाल्नुभयो । त्यस्तै राई एभोकाडो र ड्रागनको बिरुवा विक्रीबाट पनि राम्रो आम्दानी लिने सोचमा हुनुहुन्छ ।

ड्रागन फलको विरुवाले रोपेको ३ वर्षदेखि फल दिने हुनाले राईको खेतीमा फल उत्पादन हुन थालेको छ । एउटा वयस्क बिरुवाबाट एक सिजनमा कम्तीमा पनि २० किलो उत्पादन गर्न सकिन्छ । बजारमा प्रतिकिलो ६ सय रुपैयाँसम्म विक्री गर्न सकिने फलको उत्पादन रुखोपाखो बारीमा समेत राम्रो हुने कृषि अभियन्ता जीवनकुमार राई बताउनुहुन्छ ।

खेर गएको जमिनमा पनि यसको खेती गर्न सकिने राईको भनाइ छ । स्थानीय स्तरमा उपलब्ध साधनहरूको प्रयोग गरेरै खेती गर्न सकिने भएकाले स्थानीयमा खेतीप्रति चासो बढेको उहाँको भनाइ छ ।

ड्रागन फल खेतीबारी तथा गमला दुवैमा उत्तिकै गर्न सकिन्छ । यो फलको नेपालमा आन्तरिक बजार धेरै ठूलो रहेको विज्ञहरू बताउँछन् । नेपाल प्रवेश गरेको धेरै समय नभएकाले नेपालीहरूले यसको स्वाद लिन पाएका छैनन् । यो फलबाट जेली जाम, जुस, वाइन, आइसक्रिम, मञ्जनलगायत सामग्री बनाउन सकिने भएकाले बजारको अभाव नहुने विज्ञको भनाइ छ ।