
सुरेन्द्र भण्डारी
झापा । झापाको बाह्रदशी गाउँपालिकाका युवाहरु कृषि पेशामा आकर्षित भएका छन् । उन्नत जानको बिउ पाउनुका साथै अनुदानको व्यपस्था भएपछि कृषकहरु आकर्षित भएका हुन् ।
बाह्रदशी गाउँपालिका वडा नम्वर १ भागुडुब्बाका सरोज कार्की कृषि पेशामा भविष्य खोज्दै हुनुहुन्छ ।
एक दशक अघिदेखि नै कृषि कर्ममा रमाउनु भएका कार्कीले यो वर्ष पनि तीन हेक्टर क्षेत्रफलमा उन्नत जातको मकै खेती गर्नु भएको छ । उहाँलाई अहिले मकै थन्क्याउने चटारो छ । प्रतिहेक्टर ८० देखि ९० मन मकै फलाउँदै आउनुभएको छ ।
कार्की मात्र नभइ बाह्रदशी गाउँपालिकाका अधिकांश नागरिक अहिले पनि कृषि पेशामा निर्भर छन् । उनीहरुका लागि गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन अनुदानमा कृषि औजार प्रदान गर्न थालेको छ ।
अझ गाउँपालिका भित्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएपछि यस ठाउँका कृषक कृषि कर्म प्रति उत्साहित भएका छन् । अहिले गाउँपालिकाको वडा नम्वर १ र २ मा मकै जोन कार्यक्रम सञ्चालित छ ।
जहाँ कृषकका लागि ५० प्रतिशत अनुदानमा झण्डै ४० लाख बढीको कृषि औजार बितरण गरिएको छ ।
कृषि पेशामा निर्भर रहेका स्थानीयको आयआर्जनमा वृद्धि गर्न गाउँपालिकाले मकै मात्र होइन अन्य बाली विशेषमा समेत सहयोग गरिरहेको छ । किसानका लागि स्प्रे ट्याङ्कीदेखि बीउ विजनसम्म वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईले बताउनुभयो ।
प्रधानमन्त्री कृषि परियोजना अन्तरगत बाह्रदशी गाउँपालिका वडा नम्वर १ भागुडुब्बामा रहेको ‘हामार कृषक समूह’ र गाउँपालिकाकै वडा नम्वर २ मा रहेको सालवारी मिश्रित कृषक समूहलाई २०÷२० लाख रुपैयाँ बराबरको मकै छोडाउने मेसिनदेखि थ्रेसरसम्मका कृषि औजार प्रदान गरेको छ ।
कृषकलाई समेटेर आधुनिक र व्यवसायिक खेती गर्ने प्रोत्साहित गर्दै मल बीउदेखि कृषि औजार समेत निःशुल्क उपलब्ध गराउन सके यहाँका कृषकको जीवनस्तर परिवर्तन हुने निश्चित छ । (भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्