१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वासको मत पाउँदिन भन्ने यकिन भएपछि प्रधानमन्त्रीले संसदमा ‘टेष्ट’ गर्नु पर्दैनः सह-न्यायाधिवक्ता रिजाल


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस आज पनि जारी छ ।

आज सरकार पक्षबाट बहस शुरु गर्दै सह–न्यायाधिवक्ता गोपालप्रसाद रिजालले विश्वासको मत पाउँदिन भन्ने यकिन भएपछि प्रधानमन्त्रीले संसदमा विश्वास टेष्ट गर्नु नपर्ने दाबी गर्नुभएको छ ।

धारा ७६ (३) बमोजिम नियुक्त केपी शर्मा ओलीले विश्वासको मत पाउँदिन, त्यसैले लिन्न भनेर उपधारा ५ बमोजिम अर्को प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिकहाँ जानुभएको रिजालको तर्क छ ।

अविश्वासको प्रस्ताव पास गराउन संसदमा जानु नपर्ने र संविधानले पनि विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि संसदमै जानुपर्छ भनेर नभनेको उहाँको भनाई छ ।

आज ५५ मिनेट भित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नुहुनेछ ।

सरकारी वकिलले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन ब्यवसायीले बहस गर्नेछन् । प्रधानमन्त्रीका कानुन ब्यवसायीलाई बहसका लागि ७ घण्टा समय छुट्याइएको छ ।

सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि, कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस हुनेछ ।