१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वार्तामै मापसे गरी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेपछि उपकुलपतिसहित चार पदाधिकारीको कार्यकक्षमा ताला


0
Shares

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । आन्दोलनरत प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी तथा विद्यार्थीहरूले बुधबार पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

प्रतिष्ठानमा भएको भष्ट्राचारको छानविन गरी दोषीउपर कारबाही र प्रतिष्ठान सुधारको माग राख्दै १६ दिनदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहको कार्यकक्षमा तालावन्दी गरेका छन् ।

मंगलबार आन्दोलनरत पक्षसँग वार्तामा बसेका बेला उपकुलपति गिरीले मादक पदार्थ सेवन गरी स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेपछि प्रतिष्ठानमा तनाव उत्पन्न भएको थियो । कर्मचारीले कार्यकक्षमै मादक पदार्थ सेवन गरेका उपकुलपति गिरीलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाएका थिए ।

प्रतिष्ठानको हितविपरित काम गर्ने चारै जना पदाधिकारीलाई बर्खास्त गर्न र मन्त्री स्तरीय वार्ता टोली गठन गरी प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न संघर्ष समितिका अध्यक्ष डा. सुर्यप्रसाद रिमालले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गर्नु भएको छ ।

आन्दोलनरत पक्षले अब प्रतिष्ठानका पदाधिकारीसँग कुनै वार्ता नहुने भन्दै प्रधानमन्त्रीको अग्रसरतामा वार्ता टोली गठन गर्दै समस्या समाधानको पहल नभए एक साताभित्र सामुहिक राजीनामा दिने घोषणासमेत गरेका छन् ।