
प्रकाश नेपाल
इलाम । चार महिनादेखि दुधको भुक्तानी नपाउँदा पशुपालन व्यवसायबाटै गुजारा चलाउँदै आएका किसान मारमा परेका छन् । गाईवस्तुलाई भुस पिठो पनि किनेरै खुवाउनुपर्ने भएकाले लामो समया निषेधाज्ञा हुँदा झनै समस्या भएको किसानहरूको गुनासो छ ।
डीडीसीले इलामका विभिन्न स्थानबाट सहकारी मार्फत दुध संकलन गरेर विराटनगर पठाउने गरेको छ । तर, यतिबेला दुध बेचेरै घर चलाउनु पर्ने किसानलाई समयमै भुक्तानी नदिँदा सहकारीमा दुध आउन छाडेको छ । समयमै भुक्तानी नपाएपछि किसानहरूले निजी डेरी र सहकारीमा दुध संकलन गर्न थालेका छन् ।
लामो समयदेखि मूल्य नपाएका कारण किसानले दुध नल्याउँदा संकलनमा समस्या भएको पुवाखोला दुग्ध उत्पादक सहकारी संस्थाका सहव्यवस्थापक धन प्रसाद दुलाल बताउनुहुन्छ । किसानहरूले चार महिनादेखि दुधको मूल्य नपाएको उहाँको भनाइ छ ।
दुग्ध विकास संस्थान विराटनगरले किसानको फागुन, चैत, वैशाख र जेठ महिनामा विक्री गरेको दुधको मूल्य दिएको छैन । संस्थानले इलामको सात संकलन स्थान बाट दैनिक १५ हजार लिटरभन्दा बढी दुध संकलन गरी विराटनगर पठाउने गरेको छ । संकलित दुध र दुधको परिकार स्टक राख्नु परेकोले समयमा भुक्तानी दिन नसकिएको संस्थानको भनाइ छ ।
यस अघि संस्थानले १५–१५ दिनमा दुधको मूल्य भुक्तानी गरिरहेको थियो । अघिल्लो वर्ष लकडाउन भएदेखि यता भुक्तानी नियमित हुन नसकेको संस्थानकै पदाधिकारीहरू स्वीकार्छन् । सरकारले किसानको समस्या तत्काल समाधान गर्नुपर्ने किसानहरूको माग छ ।
इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित दुधमध्ये अधिकांश दुध डीडीसीमा बिक्री हुँदा केही मात्र स्थानीय स्तरमा खपत हुने गरेको छ । १ सय २५ वटा गाई फार्म र सहकारीमा आवद्ध किसानहरूले उत्पादन गरेको दुधको मूल्य नपाउँदा किसान रनभूल्लमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्