
काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार दिउँसो ४ बजेको लागि बोलाउनुभएको छ । अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनको सबै तयारी पूरा भएको र अधिवेशनमा विधेयकका साथै समितिका प्रतिवेदन तथा संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने जानकारी दिनुभयो । राष्ट्रियसभामा हाल १९ वटा विधेयक रहेका छन् ।
यस्तै, नियमावलीको व्यवस्था अनुसार अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश हुने सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको अवस्थालाई ध्यान दिएर बैठकमा सहभागी हुने सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार संकलनका लागि जाने पत्रकारहरुको आज एन्टिजेन परिक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्