
काठमाडौं । नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताउनुएको छ ।
नेकपा एमालेले २०७५ जेठ ३ अघिको पार्टी केन्द्रीय कमिटी ब्युँताएकाले सबै नेताहरू तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताउनुभएको हो । उहाँले माधवकुमार नेपाल पक्षीय नेताहरू बैठकमा नआउनु अनुचित हुने बताउँदै बैठकमा आउने विश्वास व्यक्त गर्नुभयो ।
अर्थमन्त्री पौडेलले पार्टीको अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगिसकेको उल्लेख गर्दै अन्तरविरोधहरूलाई पार्टीको दायरामा फर्काउनुपर्ने बताउनुभयो । पार्टी भित्रै बसेर समस्याको समाधान गर्नुपर्ने र पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा उहाँको जोड छ ।
आगामी दिनमा नेकपा एमाले व्यक्तिको स्वेच्छाचारितामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको उहाँको भनाइ छ ।
‘पार्टीलाई एकतावद्ध गरेर लान प्रधानमन्त्रीले धेरै ठूलो पीडा सहेर पनि सम्वाद, सहकार्य र एकताको लागि प्रयास गरिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘अब व्यक्तिको स्वेच्छाचारी ढंगले नभइ पार्टीको निर्णयको आधारमा पार्टी चल्छ, निर्णय र निर्देशनको आधारमा पार्टी चल्छ भन्ने सुनिश्चितता गर्नका लागि नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठक बस्छौँ ।’
मन्त्री पौडेलले कुनै खास कालखण्डमा दलको सदस्य निर्दलीय हुन्छ भनेर संविधानको गलत व्याख्या गर्न खोजिएको टिप्पणी पनि गर्नुभयो । दलको सदस्य कहिल्यै पनि निर्दलीय नहुने उहाँले जिकीर गनुैभयो । संवैधानिक व्यवस्थामा निर्दलीय अभ्यास गर्नु नहुनेमा उहाँको जोड छ ।
संविधानको गलत व्याख्या पनि गर्न खोजिएको भन्दै मन्त्री पौडेलले दलको सदस्य कहिल्यै पनि निर्दलीय हुन नसक्ने बताउनुभयो । अहिलेको संवैधानिक व्यवस्थामा निर्दलीय अभ्यास गर्ने कुरा कुनैपनि हालतमा उचित हुन नसक्ने उहाँको तर्क छ ।
नेकपा(एमाले)ले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भङ्ग गरी २०७५ जेठ ३ अघिको अवस्थामा रहेको केन्द्रीय कमिटी ब्युँताएको छ । सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ ।
यद्यपि वरिष्ठ नेता नेता माधवकुमार नेपाल पक्षले भने पार्टी २०७५ जेठ २ गते फर्काउनुपर्ने माग गरेका छन् । यस्तो अवस्थामा आगामी बैठकमा नेपाल पक्ष नेताहरू बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने आम चासोको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्