१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुपा सुनारलाई कारबाहीको माग गर्दै मानवअधिकार आयाेगमा सरस्वती प्रधानको निवेदन


0
Shares

काठमाडौं । जातिय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई कारबाहीको माग गर्नुभएको छ । आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमुलक तरिकाले फसाइएको दाबी गर्दै उहाँले रुपा सुनारसहितलाई कारबाहीको माग गर्नुभएको हो ।

आफूले कुनै प्रकारको जातिय विभेद एवम् छुवाछुतको व्यवहार नगरेको दाबी गर्दै प्रधानले षडयन्त्रपूर्वक थुनामा राखेकाले रुपा सुनारलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ । उहाँले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाहीको माग गर्नुभएको छ ।

असार १ गते सञ्चारकर्मी सुनारलाई दलित भएकै कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै प्रधानलाई तीन दिन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्टयविना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गर्नु स्वतन्त्रता विपरित भएकाले कारबाहीको माग गर्नुभएको छ ।

यस्तै प्रधानले सञ्चारकर्मी सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाउनुभएको छ । घरधनी श्रीमान् र सासु भएको भन्दै उहाँले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पार्नुभएको छ । आफूलाई घरधनी भनि झुटा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उल्लेख गरिएको छ ।

सञ्चारकर्मीको प्रमाणपत्रको दुरुपयोग गरी निषेधाज्ञाको दिनमा खुलेआम हिँडेको तथा सुनारले जातको विषय निकालेर विवाद निकाली मानवता विरोधी अपराध गरेको दाबी गरिएको छ । निवेदनमा उल्लेख छ, ‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकोले मलाई घर भाडामा राख्ने अधिकार नभएता पनि मलाई घरधनी भनि झुटा आरोप लगाइ जालसाझ गरी मेरो मानव अधिकारको हनन गरेको । मैले जातिय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि नीज रुपा सुनार आफैँले म कामीको छोरी हो भनी आफैँले आफ्नो जात देखाइ मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको ।’

सरस्वती प्रधानले सञ्चारकर्मी सुनारलाई जातिय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ । तीन दिन हिरासमत बसेर प्रधान छुट्नुभएको थियो । सुनारले पनि आफूमाथि विभेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ ।