१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वी चितवनको लदरी खोलाको पक्की पुल भाँचियो


0
Shares

चितवन । गएराति देखिको निरन्तर वर्षापछि आएको बाढीले चितवनको खैरहनी नगरपालिका–२ मा पक्की भुल भाँचिएको छ ।

भित्री सडकखण्डमा रहेको लादरी खोलामा रहेको पुल भाँचिएपछि पूर्वी चितवनसँगको आवतजावत बन्द भएको प्रहरीले जनाएको छ । राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ ।

खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले पुल भत्काइदिएको छ । बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन् । पर्यटकीय नगरी सौराहामा पनि बाढी पसेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले राप्ती नगरपालिका १२ मा २ वटा घर र एउटा गोठ बगाएको बताउनुभयो । घर बगाउँदा चार जना बेपत्ता भएका छन्, जसमध्ये एक जनाको शव फेला परेपछि प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

त्यस्तै सौराहाका २० घर, राप्ती ७ र ८ का १ सय ५० घरधुरी डुवानमा परेर सुरक्षित स्थानमा सारिएको थापाले बताउनुभयो । यस क्षेत्रका भवानीपुर, सुन्दरवस्ती खुरखुरे लगायतका स्थानमा पम्फा खोला पसेको छ । भरतपुर १० का धेरै स्थानहरूसमेत डुवानमा परेका छन् ।