
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा योजनामा आबद्ध हुने विषयमा उत्पन्न भएको समस्याको तत्काल समाधान गर्न एवं अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा लागु गर्न आग्रह गरेको छ ।
बुधबार युनियनको केन्द्रीय कार्यालय अनामनगरमा ट्रेड युनियन कांग्रेसका उच्च पदाधिकारी र नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) पदाधिकारीबीच भएको छलफल पश्चात् युनियनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
युनियनका महासचिव योगेन्द्र कुँवरद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्छ भन्ने मुद्दा २०५४ सालदेखि नै उठाउदै आएको हो । हामीले शुरुका दिनदेखि नै अनौपचारिक क्षेत्र जहाँ कुनै किसिमका सामाजिक सुरक्षा छैन त्यहाँ लागु हुनुपर्छ भन्ने आवाज उठाउदै आयौं र अहिले पनि त्यहि हो । तर सामाजिक सुरक्षा ऎन र कार्यविधि हामीले सोचेको भन्दा फरक ढंगले आयो । जसले गर्दा केहि समस्याहरु उत्पन्न भएको छ । अहिले देखिएको बैंक तथा वित्तीय क्षेत्र र केहि अनौपचारिक क्षेत्रमा आएको समस्या छलफलको माध्यमबाट समाधान गर्नु पर्दछ ।’
बैंक तथा वित्तीय क्षेत्रमा संचयकोष उपदान पाईरहेको वर्तमान अवस्थामा सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा खाईपाई आएको सुविधा कटौती हुन नहुने, सामुहिक सौदाबाजीको अधिकार सुनिश्चित हुनुपर्ने, अवकाश एवं निवृत्तिवरण योजनामा देखिएको विभेद हटाउन र उत्पन्न वर्तमान समस्या समाधान नभएसम्म २०७८ असार मसान्तसम्ममा कोषमा आबद्द भईसक्नु पर्ने व्यवस्थालाई संशोधन गरि समय सिमा थप्न फियनले राखेको मागलाई छलफल गरि तत्काल समस्याको समाधान गर्न युनियनले सामाजिक सुरक्षा कोषलाई आग्रह गरेको छ ।
बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा योजनामा आबद्द हुँदा आफुले खाईपाई आएको सेवा सुविधा घट्ने भन्दै सामाजिक सुरक्षामा आबद्द नहुने बताउदै विरोध गर्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्