
काठमाडौं । सामाजिक सुरक्षा कोषबाट ३ हजार भन्दा बढीले सेवा सुविधा पाउन थालेका छन् । दुई वर्षअघि सञ्चालनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमबाट ३ हजार ५३ जनाले नियमित सुविधा पाइरहेको कोषले जनाएको छ ।
उनीहरूले कोषबाट ११ करोड ६२ लाख रुपैयाँ पाएका छन् । कोषका अनुसार सबैभन्दा बढी वृद्धअवस्था सुरक्षा योजनामा ८ सय ७४ योगदानकर्तालाई ६ करोड ९७ लाख रकम भुक्तानी गरिएको छ ।
औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाबाट बढी योगदानकर्ता लाभान्वित भएका छन् । यस योजनाबाट २ हजार ४७ योगदानकर्ताले ३ करोड ९१ लाख रुपैयाँ लाभ पाएका छन् ।
कोषले दुर्घटना तथा अशक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार दाबी भुक्तानी गरेको छ। त्यस्तै आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
पछिल्लो समयमा कोषप्रति आकर्षित हुने क्रम बढ्दै गएको कोषले जनाएको छ । कोषका अनुसार हालसम्म १४ हजार ५ सय ८० रोजगारदाता सामेल भएका छन् ।
ती रोजगारदाताका २ लाख ५१ हजार २ सय ९२ श्रमिकले नियमित योगदान गर्छन् । कोषमा हालसम्म ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भइसकेको छ । विभिन्न २२ क्षेत्रका रोजगारदाता र श्रमिक कोषमा सामेल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्