२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी, माधव पक्ष नजाँदा बामदेव सहभागी


0
Shares

काठमाडौं । माधव नेपाल पक्षको अनुपस्थितिकाबीच नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी छ ।

११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको थियो । बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको छ । त्यस्तै, हालै केन्द्रीय कमिटीमा अटाएका पूर्व माओवादी नेताहरू पनि बैठकमा सहभागी भएका छन् ।

असार १६ गते १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीदलाई एमालेले केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको थियो । उक्त कमिटीमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको थियो ।

बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएको छ । हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो । तर, ओलीले उनीहरूको प्रस्ताव ठाडै अस्वीकार गर्नुभएको थियो ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताउनुभयो । गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो ।.