
काठमाडौं । बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थायी आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरूका लागि अस्थायी आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो । जसका लागि क्षतिको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयहरूर्ला पत्राचार गरिसकेकाले विवरण प्राप्त हुनेवित्तिकै रकम निकासा हुने उहाँको भनाइ छ ।
अर्यालले गत वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घरहरु पुनर्निमाणका लागि १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ प्रथम किस्ता वापतको रकम सम्बन्धित जिल्ला विपद व्यवस्थापनको कोषमा पठाएको पनि उहाँले जानकारी दिनुभयो । यस वर्ष जेठ २८ गतेसम्म सुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको उहाँले बताउनुभयो ।
मनसुनबाट आएको विपत्तिबाट ३३ जनाको मृत्यु भएको, ३० जना बेपत्ता भएको र ३२ जना घाइते भएको प्रवक्ता अर्यालले बताउनुभयो । बाढी पहिरोबाट ४ सय ८३ निजी घरहरू पूर्ण रूपमा क्षति भएको, १ सय १२ घरमा आशिंक क्षति भएको, ३६ सरकारी कार्यालयमा क्षति भएको तथा ६ वटा सामुदायिक विद्यालयको भवनमा क्षति पुगको उहाँको भनाइ छ ।
त्यस्तै २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, २ वटा वित्तिय संस्थाको भवनमा क्षति भएको पनि प्रवक्ता अर्यालले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखा सँग समन्वय गरी विपद आउनसक्ने ठाउँमा प्राधिकरणले पूर्व सूचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको उहाँले बताउनुभयो । ९ जिल्लाका ३६ पालिकाहरुमा प्रभावमा आधारित पूर्व सुचना प्रणाली जडान गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्