१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सप्तकोशीमा पानीको बहाव बढ्दै, २४ वटा ढोका खोलियो


0
Shares

काठमाडौं । विगत केहि दिन यता सप्तकोशी नदीको बहावमा उतारचढावको आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढिरहेको हो ।

सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । शुक्रबार साँझको मापनअनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड वहाव मापन हुँदा ब्यारेजका ५६ मध्ये २४ वटा ढोका खोलिएका छन् । कोशीको पछिल्लो मापन अनुसार नदीको बहावमा निरन्तर वृद्धि भइरहेको छ ।

सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहे पनि अहिले सम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको जनाएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ ।

निरन्तर वर्षा भइरहेको हँुदा नदीको बहाव जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ ।