
-सागर महत/ईमेज
अर्घाखाँची । खेत बारी जोत्नको लागि गोरु पाल्दै आएका अर्घाखाँचीका कृषक अहिले हाते ट्याक्टरतर्फ आकर्षित बनेका छन् ।
काममा छिटो छरितो हुने र गोरु पाल्ने खर्चले ट्याक्टरनै आउने भएपछि उनीहरु हाते ट्याक्टरतर्फ आकर्षित बनेका हुन् ।
गोरुमार्फत खेत जोत्दै आएका अर्घाखाँचीका कृषकहरु आजभोलि हाते ट्याक्टरको प्रयोग गरेर खेतबारी खनजोत गरिरहेका छन् ।
जिल्लामा हाते ट्याक्टरको प्रयोग बढेपछि कृषहरुले गोरु पाल्नै छाडेका छन् । ठूला ट्याक्टर मोटर बाटो भएका खेत बारीमा पुग्ने र सानो हाते ट्याक्टर गुडाएर वा बोकेर जुनसुकै ठाउँमा लगेरे जोत्न सकिने सजिलो माध्यम बनेकाले सुविधातर्फ लागेको मालारानी गाउँपालिका ५ का कृषक नरबहादुर खड्का बताउँछन् ।
कृषि पेशालाई आधुनिकीकरण र व्यावसायिक बनाउन यो माध्यमको प्रयोगबाट सजिलो बनेको कृषकहरु बताउँछन् ।
कम खर्चिलो, समयको व्यवस्थापन, उत्पादनमा वृद्धि हुने भएकाले प्रदेश सरकारले करिव सय वटा हाते ट्याक्टर ८५ प्रतिशत अनुदान र कृषि जोन कार्यालय अर्घाखाँचीले ६८ वटा हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि जोन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्दी भट्टाईको भनाइ छ ।
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्न थालेपछि उनीहरुले हाते ट्याक्टरको प्रयोग बढाएका हुन् ।
गएको आर्थिक वर्षमा मालारानी गाउँपालिकाले ८० प्रतिशत अनुदानमा ४३ हाते ट्याक्टर वितरण गरेको थियो ।
यस्तै सन्धिखर्क नगरपालिकाले १२, पाणिनी गाँउपालिकाले २५ वटा हाते ट्याक्टर वितरण गरेको छ ।
जिल्लामा झण्डै खेत जोत्ने ठूला ट्याक्टर १५ तथा हाते ट्याक्टर तीन सयको हाराहारीमा रहेको जिल्ला कृषि विकास ज्ञान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्