
रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन सम्पन्न हुनेगरी आफ्नो जिम्मेवारी पूरा गर्न निकटका नेताहरूलाई निर्देशन दिनुभएको छ ।
आफ्नै निवास वुढानिलकण्ठमा शनिबार निकटका पदाधिकारी र केन्द्रीय नेताहरूलाई सभापति देउवाले आफू पराजित भए पनि महाधिवेशन जुनसुकै हालतमा सम्पन्न गर्ने बताउनुभयो । बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले महाधिवेसन नगरे आफूलाई कलंक लाग्ने भन्दै महाधिवेशन जसरी पनि सम्पन्न गर्ने बताउनुभयो ।
बैठकमा सहभागि पार्टी सह–महामन्त्री प्रकाशशरण महतले सभापतिले अधिवेशन समयमै सक्नेगरी जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको जानकारी दिनुभयो । शुक्रबार पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिबारे जानकारी गराउँदै देउवाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको महतले जानकारी दिनुभयो ।
कांग्रेस कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानविन समितिले सम्पूर्ण काम सकेर असार मसान्त भित्र सदस्यहरूको सूची सभापतिलाई बुझाउनुपर्नेछ । यसअघि असार २० गतेसम्मको लागि समय तोकिएको थियो ।
छानविन समिति सदस्य एवं केन्द्रीय सदस्य श्यामप्रसाद घिमिरेका अनुसार प्राप्त विवरणहरूको अध्ययन गर्ने काम भइरहेकाले कार्यतालिका बमोजिम असार ३० गते सभापति देउवाले क्रियाशीलको अन्तिम सूचीमा हस्ताक्षर गर्न सम्भव छ । कार्यतालिका अनुसार साउन १२ वाट वडा अधिवेशन गर्ने तयारी पार्टीमा छ ।
केन्द्रीय महाधिवेसन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने कांग्रेसको कार्यतालिका रहेको छ । शुक्रबारको बैठकले नविकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनोटको प्रक्रिया हेरेर छानविन समितिले निर्णय गर्ने गरी मापदण्ड बनाएपछि पार्टीमा महाधिवेशनको आधार बनेको हो ।
प्रतिक्रिया दिनुहोस्