
डोलराज रानाभाट
चितवन । पूर्व–पश्चिम र पृथ्वीराजमार्ग जोड्ने मुख्य सडकखण्ड हो मुग्लिन नारायणगढ सडक । तर, असार १७ गतेदेखि वर्षा हुनेबित्तिकै माथिबाट पहिरो झर्दा सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । ठूला–ठूला पहिरोका कारण बाटो खुलाउनै सकस भएको छ ।
बाराबाट बिरामी लिएर काठमाडौं जान लाग्नुभएका सहायदप्रसाद यादव शनिबार राति ९ बजे मुग्लिन सडक आइपुग्नुभएको थियो । तर, आइतबार बिहान ९ बजेपछि एकतर्फी सडक सञ्चालन भएपछि मात्र उहाँ काठमाडौं जान पाउनुभयो । पहिरोका कारण समयमा काठमाडौं जान नपाएपछि बिरामीको अवस्था झन् जटिल बन्दै गएको छ ।
सडक खण्डको विभिन्न ठाउँमा गएको पहिरोले एम्बुलेन्स, विवाहका गाडी, खाद्यान्नका लगायतका सबै सवारी रोकिएर बस्नु परेको छ । जाममा परेको सवारी साधनमाथि समेत पहिरो खस्ने गरेको सवारी चालक बताउँछन् । रातको खसेको पहिरोसमेत सम्बन्धित निकायले नफाल्दा बिहानसम्म बस्नुपरेको उनीहरूको गुनासो छ ।
असार १७ गते यतामात्रै मुग्लिन–नारायणगढ सडक खण्डका चार किलो, पाँच किलो, चौध किलो र सेती दोभानमा ठूलो पहिरो गएको छ । चौध किलो भन्ने स्थानमा त भिमकाय ढुङ्गा बीच सडकमा खसेको छ । त्यसलाई फोर्नका लागि मेसिन प्रयोगमा ल्याइएको छ ।
पहिरो हटाउनका लागि डिभिजन सडक कार्यालय, भरतपुर सधैँ साधनसहित तयार रहको कार्यालयको दाबी छ । यद्यपि सहज र छिटो सवारी आवागमन हुने भने सकेको छै । भौगौलिक वनावटका कमजोर हुँदा र मुख्य सडक खण्डबाट सहायक बाटो गाउँतर्फ लैजादा पहिरो खस्ने क्रभम बढेको कार्यालयका सूचना अधिकारी शिव खनाल बताउनुहुन्छ ।
त्यसो त विगतका वर्षहरूमा धेरै पहिरो जाने स्थानमा आधुनिक प्रविधि र वायो इन्जिनियरिङ्गको काम गरिएको छ, जसका कारण उक्त स्थानहरूमा पहिरो जाने क्रम रोकिएको छ । तर, यस्ता प्रविधिको प्रयोग कति ठाउँमा गर्ने भन्ने प्रश्न पनि हरेक वर्ष उठ्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्