१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एनएसएलका सर्वाधिक गोलकर्ता एनआरटीमा, स्टेफेन समिर पनि अनुबन्धित


0
Shares

काठमाडौं । असोज पहिलो साताबाट हुने सहिद स्मारक ए डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी)ले दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

एनआरटीले एक कार्यक्रम गर्दै असोज ३ गतेबाट हुने फरक ढाँचाको लिगका लागि खेलाडी अनुबन्ध गरेको हो । क्लबले खेलाडीद्वय मासुके ओलुमो र स्टेफेन समिरलाई क्लबमा अनुबन्ध गरेको हो । यी दुई खेलाडीका लागि क्लबले १० महिनाका लागि सम्झौता गरेको हो ।

नयाँ ढाँचाको लिग भनिएको ए डिभिजन लिग यो संस्करणको सुरुवातमा सिंगल राउन्डका खेल हुनेछन् । त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन लिग खेल्ने प्रावधान अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको छ ।

फरक ढाँचाबाट सञ्चालन हुन लागेको लिगका लागि एनआरटीले पुराना खेलाडीलाई समेटेर प्रशिक्षण दिइरहेको छ । अघिल्लो संस्करणमा पनि प्रशिक्षण दिएका राजुकाजी शाक्यलाई क्लबले प्रशिक्षकको रूपमा निरन्तरता दिएको छ । चार पटकको च्याम्पियन एनआरटीमा अनुबन्ध भएका मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिगमा काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए ।

मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता पनि हुन् । सहिद स्मारक ए डिभिजन लिगमा तीन विभागीय टोली सहित १४ क्लबले प्रतिस्पर्धा गर्र्नेछन् ।