२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


ओलीको प्रस्ताव नेपालद्वारा ठाडै अस्वीकार


13
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने अडान दोहोर्‍याउनु भएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार टेलिफोन गरी हस्ताक्षर फिर्ताका लागि गरेको आग्रह वरिष्ठ नेता नेपालले अस्वीकार गर्नुभएको हो । केन्द्रीय कमिटी बैठक अघि अध्यक्ष ओलीसँग भएको टेलिफोन वार्तामा नेता नेपालले आपसी परामर्शविना डाकिएको बैठक स्थगित गर्न आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राख्नुभएको हो ।

वरिष्ठ नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको भन्दै अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा फैसला स्वीकार्न सकिने तर हस्ताक्षर फिर्ता लिन नसकिने जवाफ दिनुभएको थियो । उहाँले पार्टीको एकता टुंग्याउन गठित कार्यदललाई नै सक्रिय बनाउनुपर्ने धारणा राख्नु भएको थियो ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले सोमबारसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता समाप्त हुने चेतावनी दिनुभएको थियो । प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । जसमा नेपाल समूहका २३ जना पनि छन् ।

यता पार्टीभित्र देखिएको विवाद मिलाउन नेकपा एमालेका दोस्रो तहका नेताहरु आज पनि दिनभरजासे छलफलमा जुटेका छन् । छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेवाङ र नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य सहभागी थिए । उनीहरूले सहमतिका विभिन्न विकल्पमा छलफल गरेको नेपाल पक्षका एक नेताले जानकारी दिनुभयो ।

दोस्रो तहका नेताहरूबीच छलफलमा उठेका विषयबारे जानकारी दिन उपमहासचिव घनश्याम भुसाल नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो । त्यही क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद भएको हो । भुसालले नेपाल निवास पुगेर दुई नेताबीच टेलिफोन सम्वाद गराउनुभएको थियो ।