
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाअघि पार्टीमा आउन अल्टिमेटम दिनुभएको छ ।
शनिबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले विरोधी मोर्चामा जोडिएका नेता तथा कार्यकर्तालाई सर्वोच्चको फैसलाअघि पार्टीमा फर्कन आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
‘पार्टीको १४औं बैठक सर्वोच्च अदालतले संसद विघटन गरेको भोलिपल्ट काठमाडौंमा बस्नेगरी सूचना आउने छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थापाले भन्नुभयो, ‘त्यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर गर्न पुगेको व्यक्तिहरूलाई सो रिटको फैसला हुनुअघिसम्म सच्चिनुपर्छ ।’
ओलीले भप्नुभयो, ‘दोबाटो त्यतिबेला सम्म मात्र हो, त्यसपछि एता न उताको भइन्छ ।’
यसअघि शुक्रबारको बैठकमा ओलीले सोमबार साँझ ५ बजेसम्म पार्टीका अध्यक्षविरुद्ध शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिको कार्यालय र सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा हस्ताक्षर गरेकाहरूलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्