१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पर्साका दर्जनौं बस्ती डुबानमा, एउटा घर ढल्यो


0
Shares

वीरगञ्ज । पर्सामा तीन दिनदेखि परेको निरन्तरको वर्षाले दर्जनौं बस्ती डुबानमा परेका छन् । अविरल वर्षाले ग्रामीण क्षेत्रका नदी र खोलामा पानीको सतह बढेर बस्ती डुबानमा परेका हुन ।

वीरगञ्ज महानगरपालिकाका अधिकांश क्षेत्र डुवानमा परेको छ । श्रीसिया खोलाको पानी बिरगन्जमा प्रवेश गरेपछि राधामाई टोल, मुर्ली आदर्शनगर छपकैयामा लाखौँको क्षति भएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा मुख्य सडक नै डुबानमा परेको छ । निजी बैंक तथा वित्तीय संस्था, थुप्रै व्यावसायिक घरानाका कार्यालय डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पोखरिया ४ मा एक कच्ची घर ढलेको छ । पकाहामैनपुर गाउँपालिका वडा नं ४ मा रहेको खेस्राहा प्रहरी चौकीमा पानी पसेपछि चौकीलाई हरिहर निमाविमा सारिएको छ । वीरगन्ज २० उदयपुर घुर्मीमा १६ घर, जिराभवानी गाउँपालिका १ बलुवा टोलमा ४ घर, जगरनाथपुर गाउँपालिका ५ दशौतामा ४० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रह्मनगर, नयाँ बस्ती, निर्मल बस्ती, मिलन चोक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चोक, सुन्दर टोल, टयाँग्रेलाइन लगायत बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

यसैगरी हालै निर्माण भएको हुलाकी सडकभन्दा होचो स्थानमा रहेका उत्तरतर्फका अधिकांश बस्ती डुबानमा परेको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रह्मदेव साहले बताउनुभयो ।