
प्रकाश लिम्बु
तेह्रथुम । छथर जोरपाटी गाँउपालिका–६ का चुईन्द्र बस्नेत रोजगारीका लागि मलेसिया र कतार पुग्नुभयो । विदेश जाँदा लागेको खर्चसमेत तिर्न नसकेपछि अहिले उनी स्वदेश फर्र्किएर च्याउखेतीमा लाग्नुभएको छ ।
विदेश जाँदा लाग्ने खर्च, श्रम र मेहेनतले गाउँमै राम्रो आम्दानी लिन सकिने पाठ बस्नेतलाई च्याउखेतीले सिकाएको छ । ६ वटा ठूला टनेल बनाएर बस्नेतले च्याउखेती गर्दै आउनुभएको छ । विष्णु एग्रोफर्म दर्ता गरेर च्याउखेत सुरु गर्नुभएका उहाँको दैनिकी अचेल च्याउ उत्पादन र रेखदेमै बित्ने गरेको छ ।
तीस लाख रुपैयाँ लगानीमा गाउँमै सुरु गरेको च्याउखेतीबाट उहाँले मनग्य आम्दानी गर्न थाल्नुभएको छ । गाउँमै सुरु गरेको फर्ममा केही युवाहरूले रोजगारीसमेत पाएका छन् । गाउँमै रोजगारी पाएपछि परिवार धान्न र घरखर्च चलाउन सहज भएको स्थानीय भक्ति बस्नेतको भनाइ छ ।
यहाँ उत्पादित च्याउ तराईका जिल्लामा खपत हुने गरेको छ । जसका कारण बजारको समस्या नरहेको च्याउन किसानहरू बताउँछन् । घरनजिकै व्यवसाय सुरु गर्दा घरपरिवारका सदस्यले समेत सघाउने गरेका छन् । कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले च्याउखेतीमा गाउँका अन्य किसानहरूको पनि आकर्षण बढ्दै गएको स्थानीय टीका बस्नेत बताउनुहुन्छ ।
चुईन्द्रको फर्ममा दैनिक ३ सय किलो च्याउ उत्पादन हुँदै आएको छ । उत्पादित च्याउ प्रतिकिलो २ सय रुपैयाँसम्म बिक्री हुँदै आएको छ । च्याउखेतीको सिको गरेर यहाँका बेरोजगार युवाहरूलेसमेत सामूहिक च्याउखेती गर्न थालेका छन् । उपयुक्त प्रविधि र सहुलियत ऋण उपलब्ध गराए कृषकहरूले खेतीलाई अझ विस्तार गर्ने सोच बनाएका छन् । त्यसका लागि सम्बधित निकायको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्