१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँको दमौली बजारमा अव्यवस्थित तारले बढ्याे जोखिम


0
Shares

उपेन्द्र खनाल

तनहुँ । पछिल्लो समय तनहुँको बजार क्षेत्रका साथै ग्रामीण क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । आवश्यकता भएकाले पनि अहिले बढीमात्रामा बजार क्षेत्रमा विभिन्न केवल नेटवर्क, टेलिफोन तथा इन्टरनेट कम्पनीहरु थपिदै गएका छन् । तारहरुको व्यवस्थापन नहुँदा दैनिकजसो सानाठूला दुर्घटना भइरहेको छ ।

बजार क्षेत्रमा रहेका तारको व्यवस्थापन गर्न नसक्दा जोखिम निम्त्याउनुका साथै दुर्घटना बढ्दै गएको हो । विभिन्न नेटवर्किङ्ग कम्पनीले बिजुलीका पोलमा जथाभावी रुपमा तार लगाउँदा पनि समस्या भएको हो ।

पोलमा कहिलेकाहीँ बिजुलीको तार सर्ट भएर अन्य तारहरुमा आगलागी हुने गरेको छ । कैयौपटक अव्यवस्थित तारका कारणले आगलागी भइ घरमा पनि क्षति पुग्ने गरेको छ । प्रायः यस्ता घटना घटिरहेको भए पनि सम्बन्धित निकायले भने चासो नदेखाएको स्थानीय बताउँछन् ।

जथाभावी रुपमा तार राखिएकाे कारण जाेखिम बढ्नु साथै बजारकाे स्वरुप नै परिर्वतन भएकाे स्थानीय अजित पन्थकाे बताउँछन् । अहिलेसम्म ठुलाे क्षति हुन बाट बचेकाे भन्दै भाेलीका दिनमा मानवीय तथा जनभनकाे क्षती भयाे भने कसले व्याहाेर्ने पन्थले प्रश्न गरे ।

केही दिन अगाडि बिजुलीको तार सर्ट भएर आगलागी हुँदा दमौलीबासी त्रसित भएका थिए । पोलमा टाँगिएका तार सर्ट भएर आगो बलेपछि व्यास नगरपालिकाको दमकलले निभाएको थियो । यस्ता घटनाहरु पटकपटक दोहोरिने गरे पनि केवल तथा इन्टरनेट कम्पनीहरुले अझै त्यसको व्यवस्थापनमा ध्यान दिएका छैनन् ।

सदरमुकाम दमौली बजारको पोलमा जताततै देखिने अव्यवस्थित तारको गुजुल्टोले बजारको सौन्दर्यसमेत धमिलिएको छ । मुख्य सेवा प्रदायक संस्थाहरुले तारको व्यवस्थापनमा सहयोग नगर्दा समस्या भएको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

अव्यवस्थित तारले एकातिर बजार नै कुरुप बनको छ भने अर्कोतर्फ दुर्घटना हुने जोखिम बढेको छ । त्यसैले समयमै तारकोे व्यवस्थापन गर्न सके जोखिम न्युनिकरणमा सहयोग पुग्नेछ ।