
मिरा बस्नेत
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस जारी छ ।
रिट निवेदनकका तर्फबाट सोमबारको जवाफी बहसम वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपतिले प्रश्न नउठाएको विषयमा महान्यायाधिवक्ताले प्रश्न उठाउनु अनुचित भएको तर्क गर्नुभयो ।
‘किर्ते कागजात भनेर रास्ट्रपति कार्यलयको लिखित जवाफमा कुनै प्रतिवाद गरेको देखिँदैन श्रीमान्,’ उहाँले भन्नुभयो, ‘त्यसमा महान्यायाधिवक्ताले मात्रै प्रश्न उठाउनुभएको हो, राष्ट्रपतिले नै प्रश्न नउठाएको विषयमा महान्यायाधिवक्ताको प्रश्न अनुचित छ ।’
वरिष्ठ अधिवक्ता कार्कीले १ सय ४६ सांसद् सर्वोच्चमा उपस्थित हुनुले पनि सरकार बनाउने आधार स्पष्ट भएको जिकिर गर्नुभयो । वैकल्पिक सरकार बन्न सक्ने आधार भएकैले सांसदहरूको हस्ताक्षरसहित राष्ट्रपतिको कार्यालय र सर्वोच्च धाएकाले यसमा थप प्रस्ट पार्नुनपर्ने उहाँको तर्क छ ।
वरिष्ठ अधिवक्ता कार्कीले सरकार पक्षका अधिवक्ताहरूले संविधानको धारा ७६(५) निर्दलीयताको संज्ञा दिँदै अचम्मको तर्क राखेको बताउनुभयो । ‘७६(५) किन राखेको ? संविधान बनाउनेहरू पनि हुनुहुन्थ्याे’ उहाँले स्वयं राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रश्न गर्दै भन्नुभयो, ‘कि संविधान बनाउने बेलामा जानेनन्, या अहिले जानी जानी अनावश्यक तर्क गरिरहेका छन् ।’
प्रधानमन्त्रीले आफूलाई अधिकार नभएको ठाउँमा तीन जनाको हस्ताक्षर लिएर गएको भन्दै कार्कीले १ सय ४९ सांसद्को हस्ताक्षर हुँदा पनि प्रधानमन्त्री नियुक्त नगरेर राष्ट्रपतिले संवैधानिक त्रुटी गरेकाले परमादेश जारी गर्न माग गर्नुभयो ।
आफूले सक्दिन भनेपछि प्रधानमन्त्रीकै सिफारिसमा ७६(५) एक्टिभ भएको बताउँदै उहाँले ३ जनाको हस्ताक्षर लिएर जाने केपी ओलीले उत्त, धाराको प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गर्नुभयो ।
पार्टीको ह्वीप र कारबाहीको विषय राष्ट्रपतिले चासो राख्ने विषय नभएको भन्दै वरिष्ठ अधिवक्ता कार्कीले राष्ट्रपति संविधानभन्दा बाहिर गएको जिकिर गर्नुभयो । उहाँले राष्ट्रपतिको निर्णय अधिकार भन्दा बाहिर गएकाले अदालतले परमादेश जारी किन नगर्ने भन्दै प्रश्न गर्नुभयो ।
‘असम्बन्धित विषयमा चासो राखेर राष्ट्रपति संविधानभन्दा बाहिर जानुभयो, राष्ट्रपतिको निर्णय क्षेत्राधिकारभन्दा बाहिर गएकाले परमादेश जारी किन नहुने ?’ उहाँले भन्नुभयो, ‘अधिकार क्षेत्र बाहिर गएर गरिएको निर्णयलाई मान्यता दिन सकिँदैन ।’
प्रतिक्रिया दिनुहोस्