
बागलुङ । लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बागलुङमा बसपार्क निर्माणको अन्तिम चरणमा पुगेको छ ।
बागलुङ नगरपालिकाको पहलमा साढे दुई वर्ष पछि बसपार्क निर्माणले अन्तिम रूप लिएको नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन १९ वर्ष अघि स्थानीयले निःशुल्क जग्गा दिए पनि बसपार्क निर्माण दुई वर्ष अघिमात्र सुरु भएको हो ।
बागलुङको दाबगरामा आधुनिक बसपार्क निर्माणका लागि स्थानीय ५२ जना जग्गादाताले निःशुल्क उपलब्ध गराएको जग्गामा बसपार्क निर्माण गरिएको हो । बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।
दुई वर्ष अघि एक वर्षमा सक्ने गरी ८ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको छ भने पार्किङ स्थल कालोपत्रेको काम भइरहेको छ ।
आधुनिक बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सक्नेछन । टर्मिनल भवनको भुई तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्