१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छ– काठमाडौं महानगरपालिका


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद्का व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ ।

सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले भोलिका दिनमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताउनुभयो । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको बताउनुभयो ।

बाढी घरभित्र पसेमा सरसफाई गर्ने लगायतका कामको लागि पनि तयार रहेको उहाँले बताउनुभयो । आवश्यक जनशक्ति र र सामग्रीहरू पनि तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । धोवीखोला, बल्खु खोला, बागमती, विष्णुमति नदीका किनारहरूमा डुबान हुने कुरालाई ध्यान दिँदै विपद् प्रतिकार्यका काम सुरु गरिएको उहाँले बताउनुभयो ।

श्रेष्ठले बाढी आएको खण्डमा दुई सय जना नगर प्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिनुभयो । र्‍यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उहाँले बताउनुभयो । रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरू र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरूको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।