१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१९ जनामा कोभिड देखिएपछि बैतडीको चडेपानी गाउँ ‘सिल’


0
Shares

विनोद सिंह विष्ट
बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँका १९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि गाउँ ‘सिल’ गरिएको छ । सोमबार गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले गाउँ ‘सिल’ गर्ने निर्णय गरेको हो ।

संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि २७ गतेसम्मको ‘सिल’ गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले जानकारी दिनुभयो । सिल भएसँगै गाउँको आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ ।

चडेपानीका ८० जनामा गरिएको कोभिड परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।

संक्रमितहरूलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्दा नमानेकोले गाउँमा झनै संक्रमणको जोखिम बढेको उहाँको भनाइ छ । चडेपानीमा कम्तीमा ५ सय जनाको बसोबास रहेको स्वास्थ्य शाखाले जनाएको छ । सिल गरिएको उक्त अवधिमा उनीहरू सबैको परीक्षण गरिने स्वास्थ्य प्रमुख नाथले जानकारी दिनुभयो ।

जिल्लाभरी सक्रिय संक्रमितको संख्या ८९ रहेको छ । कोरोनाकै कारण बैतडीमा १८ जनाको मृत्यु भइसकेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा असार १६ पछि निषेधाज्ञा खुकुलो गरिएको छ । निषेधाज्ञा खुकुला गरिएसंगै संक्रमण पनि बढ्दै गएको छ ।