
दिपेन्द्र अधिकारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सहमति कार्यान्वयन गर्न आलटाल गरेपछि आंशिक प्राध्यापकहरू पठनपाठन ठप्प पारेर पदाधिकारीको कार्यालय धाउन थालेका छन् । मंगलबार हुने उपकुलपतिको वार्ता अन्तिम भएको भन्दै माग सम्बोधनका लागि उनीहरूले ४८ घण्टे अल्टिमेटम दिएका छन् ।
भर्चुअल कक्षा बहिस्कार गरेका आंशिक प्राध्यापकहरू अचेल पठनपाठनमा होइन विश्वविद्यालयका पदाधिकारीका कार्यकक्ष वरिपरि भेटिन्छन् । पटक पटक आन्दोलन र वार्ताको श्रृङ्खला चल्दै आए पनि यसपटक भने माग सम्बोधनका लागि अन्तिम वार्तामा बस्ने उनीहरूको भनाइ छ । आंशिक प्राध्यापकहरू करार नियुक्ति र समान कामको समान ज्याला माग गर्दै आन्दोलनमा छन् ।
विश्वविद्यालयले शोषण गरेको आंशिक प्राध्यापकहरूको ठहर छ । गत पुस २३ गते माग सम्बोधनका लागि भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । सहमतिमा विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई शिक्षक दरबन्दीको अवस्था जानकारी गराउन ताकेता गरेको थियो ।
६२ मध्ये १८ वटा आंगिक क्याम्पसल् मात्र विवरण पठाएको अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनाल बताउनुहुन्छ । विवरण प्राप्त क्याम्पसमा छानविनका लागि त्रिविबाट पदाधिकारी गइसकेको र अन्य क्याम्पसका हकमा विवरण प्राप्त भएपछि मात्र जाने उहाँको भनाइ छ ।
ठूला भनिएका र नाम चलेका क्याम्पसहरूले समेत आफ्नो स्रोतले धान्ने र आवश्यक प्राध्यापकहरूको विवरण पठाउन आलटाल गरिरहेका छन् । विवरण पठाउन विश्वविद्यालयले पुनः ताकेता गरेको छैन । आफ्ना माग सम्बोधन गर्न नसके पदाधिकारीले राजीनामा दिनुपर्ने माग आंशिक प्राध्यापक संघका उपाध्यक्ष नवीन खनाल बताउनुहुन्छ ।
‘अहिलेको आन्दोलन निर्णायक भएकाले करार भन्दा अन्य सहमति जाँदैनौं,’ उहाँले भन्नुभयो, ‘नसक्ने हो भने पदाधिकारीले राजीनामा दिनुपर्छ, मंगलबारको वार्ता सफल नभएको खण्डमा ४८ घण्टाभित्र आन्दोलनको मोर्चामा जानेछौँ ।’
यता, विश्वविद्यालय भने माग सम्बोधनको प्रक्रियामा रहेको तयारी जवाफ दिइरहेको छ । आंशिक प्राध्यापकले पनि सहमति कार्यान्वयनका लागि क्याम्पस तहमा विवरण पठाउन दवाव दिन सकेका छैनन् । विश्वविद्यालयको कार्यशैली र आंशिक प्राध्यापकको आन्दोलनको मारमा भने विद्यार्थी छन् ।
प्रतिक्रिया दिनुहोस्