१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विरोधी मोर्चालाई बाँदरको संज्ञा दिँदै कोमल वलीले वाचन गरिन् कविता


13
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिँदै व्यंयात्मक कविता बाचन गर्नुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै वलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताउनुभयो ।

धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलस्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभइ विगतका सरकारहरू भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो बेला राष्ट्रका सबै शक्तिहरू एक ठाउँमा उभिनु पर्दैन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घर बनाउने न अर्काको घर बन्न दिने ? न अरूलाई गर्न दिने, न आफूले गरेर देखाउने ? यसरी मुलुकको निर्माण कसरी हुन्छ ? जनताको समृद्धि कसरी हुन्छ ?’

वलीले आफूले पनि नगर्ने र अर्कालाई पनि काम गर्न नदिने चरित्र राजनीतिक दलहरूमा भएको भन्दै सरकार विरोधी मोर्चामा सहभागी दललाई लक्षित गर्दै ‘बाँदरको जमात र अमृत पानको सपना’ शिर्षकको कविता वाचन गर्नुभयो ।

बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन
छेपारा जस्ता मौसमी रङ्ग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन
कहिले मिलेका छन् कहिले फुटेका छन्
इष्र्याको भट्टीमा आफैँलाई भुटेका छन् ,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेबारिसे बाँदर विनासका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे ।
आखिर बाँदर न हुन्,
भोलिको प्रतिक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यिनको
बाँदरहरू खेती गर्दैनन्, बाली विनास गर्छन् ।
कहिले ढेडुहरूसँग मिल्छन्, कहिले गोइलानहरूसँग मिल्छन् ।
कर्मको कुटो नलगाउने यी बाँदरहरू
अमृतपान गर्ने सपना देख्छन् ।
बाँदरहरूको आफ्नो देश हँदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रङ्ग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।