
काठमाडौं । हेल्प नेपाल (हेलम्बु एजुकेसन लिभ्लिहुट पार्टनरसीप) ले मेलम्ची खोलामा आएको बाढीले अन्धकार बनाएको हेलम्बुमा सोलार वितरण गरेको छ । हेल्पले ‘एक घर एक सोलार’ अभियानको थालनी गर्दै सोलार वितरण गरेको हो ।
हेल्पले हेलम्बु गाउँपालिका १ को सम्पूर्ण वडा, २ को शेर्माथाङ, तक्माखर्क, कोलामा, शुगिन्चे र छिमी र ३ को शेरामा सोलार वितरण गरेको छ ।
हेलम्बुमा आमालाई फोन गर्दा बती नभएका कारण साँझ ६ बजे नै खाना खाएर सुत्ने गरेको बताएपछि उज्यालोका लागि केही गर्नुपर्छ भनेर सोलार अभियान सुरु गरेको हेल्पका अध्यक्ष जिमी लामाले बताउनुभयो ।
‘मेरो घर पनि त्यतै हो, बाढी गएको ४ दिनपछि बल्ल आमासँग सम्पर्क भयो’ , जिमीले भन्नुभयो, ‘आमाले बती नहुँदा साँझ ६ बजे नै खाना खाएर सुत्ने गरेको र गाउँका कोही भने छिमी ( गुम्बामा बाल्ने दियो) मा बती बालेर साँझको नित्य काम गर्ने गरेको बताउनुभयो त्यसैले केही गर्नुपर्छ भनेर एक घर एक सोलार अभियान सुरु गरे ।’
सोलारले बती पुग्न निकै ढिला हुने ठाउँमा मोबाइल पनि चार्ज हुने र जीवनयापन पनि अलि सहज हुने जिमीको ठम्याइ छ ।
सोही अभियानमा जिम्मीले १२ सय २२ घरपरिवारलाई सोलार वितरण गर्नुभयो । म एक्लैले त के गर्न सक्थे र साथीभाईको सहयोग धेरै रह्यो जिम्मीले भन्नुभयो । यस अभियानमा विशेषगरी जिमीलाई शिशिर खनाल, हेलम्बुका शिक्षक पूर्ण गौतम, लक्ष्मी राई, हेलम्बुका छिरिङ लामा, रञ्जना गौतम र दावाग्याल्जेनले धेरै सहयोग गरेका छन् । साथै अन्य विभिन्न २२ संस्था तथा व्यक्तिले सहयोग गरेको उहाँले बताउनुभयो ।
असार १ गते बाढी आएपछि उक्त क्षेत्रमा विद्युत छैन् । तीन हप्ताको अवधिमा हेल्पले १२ सय बढी सोलार वितरण गरेको छ । सोमबार हेलम्बु ४ को ग्याल्थुम पुगेर हेल्पले शेराका स्थानीयलाई सोलार वितरण गर्दै ‘एक घर एक सोलार’ अभियानलाई सकाएको छ ।
सोलार वितरणका लागि महानायक राजेश हमाल, कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा र बीआई फाउण्डेसनका गोकर्ण विष्ट त्यहाँ पुग्नुभएको थिए ।
२१ दिनसम्म अन्धकारमा साँझ काटिरहेका स्थानीय सोलार पाएपछि निकै हर्षित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्