१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


घुम्नैपर्ने पर्यटकीय गन्तव्यकाे सूचीमा कन्याम, व्यवस्थित हुँदै पूर्वाधार


39
Shares

प्रकाश नेपाल
इलाम । नेपालका २० उत्कृष्ट घुम्नैपर्ने पर्यटकीय गन्तव्यमा सूचीमा समेटिएपछि जिल्लाको कम्यामले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ । निषेधाज्ञाको समयमा चियाबारी बीचमा रहेको मेची राजमार्ग स्तरोन्नत्ति भएसँगै कन्याम घुम्न आउने पर्यटकको संख्या बढेको छ ।

तराइको गर्मी छल्न झापाको चारआलीबाट उकालो लागेपछि पुगिने कन्यामको सौन्दर्यले जोकोहीलाई मन्त्रमुग्ध पार्छ । बादलको घुम्टो ओडेको कम्याममा चियाका बुट्टासँग लुकामारी खेल्दै सेल्फी खिच्नेको भिड बढ्न थालेको छ ।

सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यालय, इलामले सडक फराकिलो बनाएपछि कन्यामको सुन्दरता थप बढेको छ । कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाको समयमा कन्यामले मुहार मात्र बदलेको छैन, पर्यटकको मन भुलाउने प्रमुख गन्तव्यसमेत बनेको छ ।

कन्याममा सडक तथा अन्य पूर्वाधारको विस्तारसँगै फोटो, भिडियो तथा टिकटक बनाउनेको लहर लागेको छ । कन्यामको चर्चा बाक्लिएसँगै योसँगै जोडिएका अन्य पर्यटकीय स्थल आझेलमा पर्न थालेको स्थानीय सुस्मिता खड्का बताउनुहुन्छ । स्थानीय सरकारले कन्यामसँगै पालिकाका अन्य पर्यटकीय स्थानमा पनि सेवासुविधा विस्तार गर्नुपर्ने उहाँको भनाइ छ ।

सडकको स्तरोन्नति र रंगरोगनसँगै कन्याममा अहिले पर्यटकका लागि पदमार्ग, घोडचढी मार्ग, ठेला पसल र चिया नास्ताको लागि व्यवस्थित पूर्वाधारको निर्माण गरिएको छ । कन्यामलाई दिर्घकालीन योजना बनाएर पर्यटकीय हब बनाउन पालिका लागि परेको नगरप्रमुख रणबहादुर राई बताउनुहुन्छ ।

सुन्दरता मन पराएर हजारौं व्यक्तिले कन्यामलाई सामाजिक संजाल मार्फत विश्वभर चिनाइरहेका छन् । तर, निर्माण सकिएलगत्तै भत्किएका सडक र देखिएका खाल्डखुल्डीले नगरपालिकाले गर्ने विकास निर्माणका कार्यको गुणस्तरमाथि प्रश्न चिन्ह खडा भएको छ । यद्यपि, नगरप्रमुख राई निर्माणकै चरणमा रहेकाले निरन्तर विकास हुँदै जाने बताउनुहुन्छ ।

चिया, अलैँची, अकबरे खुर्सानी, अदुवाको बिम्ब थपेर गीतको माध्यबाट समेत कन्यामलाई चिनाइएको पाइन्छ । धेरैले इलामकोे प्राकृतिक बनोट र हरियालीको बखानमा लय हालेर गीत बनाएका छन् भने कतिले इलामलाई प्रेमसँग जोडेर गीत गाएका छन् । इलाको प्राकृतिक मनमोहकतासँगै भुल्दै लुकामारी खेल्न र सुन्दरताको दृश्यावलोकन गर्न तपाईं पनि आउने कि ?