२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


साउदी जाने र आउने श्रमिकलाई हिमालय एयरलाइन्सको ठगी


26
Shares

हिमालय एयरलाइन्सले रोजगारीका लागि साउदी अरेबिया जाने र आउने निमुुखा नेपालीलाई हवाई टिकट र होटेल क्वारेन्टिनका नाममा चरम शोषण गरिरहेको छ । यो एयरलाइन्समा सरकारले अतिरिक्त संरक्षण गरेको यती समूहको लगानी छ ।

साउदी अरेबियाको उडानमा अर्को प्रतिस्पर्धी नभएको फाइदा उठाउँदै हिमालयले क्वारेन्टिनसहित एकतर्फी भाडा नै दुई लाख रुपैयाँसम्म असुली गरिरहेको छ । जब कि सामान्य अवस्थामा साउदीको दुईतर्फी भाडा नै ३० देखि ४५ हजार रुपैयाँ मात्रै हुन्छ । 

हिमालयले होटेल क्वारेन्टिनसहितको प्याकेज जोडेर चार्टर उडानको एकतर्फी भाडा नै दुई लाख र नियमित उडानतर्फ एक लाख ९० हजार रुपैयाँसम्म असुली गरिरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले बताए । 

साउदी अरेबियाका लागि नियमित उडान खुले पनि नेपाल एयरलाइन्सले उडान गर्न सकेको छैन । साउदीमा जिएसए नियुक्त नभएकाले उडान हुन नसकेको नेपाल एयरलाइन्सको भनाइ छ । 

स्रोतका अनुसार नेपाल वायुसेवा निगमको सञ्चालक समिति तथा व्यवस्थापनमा रहेका यती समूहका एजेन्टहरूले साउदीमा जिएसए नियुक्त गर्ने विषयमा अवरोध सिर्जना गरिरहेका छन् । सञ्चालक समितिमा रहेका फुर्वा ग्याल्जेन शेर्पा, ईश्वरी पौडेल र किशोर प्रधानले यती समूहका प्रतिनिधिका रूपमा काम गरिरहेको स्रोतको भनाइ छ । ‘उनीहरूले जिएसए नियुक्तिमै अवरोध सिर्जना गरिरहेका कारण अहिले हिमालय एयरलाइन्सले साउदी अरबमा एकछत्र व्यापार लिएको छ,’ स्रोतले भन्यो । 

एयरलाइन्स कम्पनीहरूले चार्टरमा लुट गर्ने मात्रै होइन, नियमित उडानमा पनि चर्को भाडा असुल गरिरहेको नाट्टाका वरिष्ठ उपाध्यक्ष बस्नेतले बताए । ‘एयरलाइन्स कम्पनीहरूले क्वारेन्टिनको रकम कति हो, एयरलाइन्सको भाडा कति हो ?’ उनले भने, ‘एयरलाइन्स कम्पनीहरूसँग कुन–कुन एजेन्सी र होटेल तथा सरकारी कर्मचारीहरूको मिलेमतो छ, छानबिन गरेर कारबाही गर्नुपर्छ ।’नयाँ पत्रिका