
प्रकाश पाक्साँवा
तेह्रथुम । तेह्रथुममा बाख्रा पालन व्यवसाय फस्टाउँदै गएको छ । राम्रो आम्दानी हुने भएपछि जिल्लाको ग्रामीण क्षेत्रका युवाहरुले बाख्रापालन रोजेका कारण व्यावसाय फस्टाउन थालेको हो । पछिल्लो समय विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको रोजाइ बाख्रापालन व्यावसायमा पर्न थालेको हो ।
विदेशी भूमिमा खर्चेको श्रम गाउँमा गर्न सके परिवारसँगै राम्रो आम्दानी लिने आशाका साथ व्यावसाय रोजेको बताउँछन् । परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई परिमार्जन गर्दै आधुनिक तरिकाले व्यवसायिक रुपमा यो पेशा अंगालन थालेका हुन् ।
बाख्रापालन व्यावसायमा राम्रो भविष्य रहेकाले पनि यसमा तेह्रथुमका युवाहरुको रोजाइ पर्न थालेको हो । यो व्यवसायबाट वार्षिक रुपमा ५ लाखसम्म आम्दानी लिन सकिने व्यवसायिक बाख्रापालन गर्दै आउनु भएका भरत कार्की बताउँनुहुन्छ ।
विदेशबाट फर्किएका युवाहरुले उन्नत जातका वोयर, जमुनापारीलगायत विभिन्न प्रजातीका बाख्रा पाल्दै आएका छन् । यहाँ उत्पादन भएका बाख्राका पाठापाठी अहिलेसम्म गाउँमै बिक्री भइरहेका छन् । गाउँमै व्यवसाय गर्ने हो भने रोजगारीका लागि भौंतारिनु नपर्ने प्रेमबहादुर कार्कीको भनाइ छ ।
गाउँमा युवाहरुले सञ्चालन गरेको व्यवसायले आफूसँगै अन्य युवाहरुलाई समेत व्यवसायिक बन्नमा उत्प्रेरणा दिएको छ । तेह्रथुमको गाउँगाउँमा सञ्चालन गरिएका फर्ममा किसानले २० देखि ८० वटा बाख्रा पाल्दै आएका छन् । युवाहरुलाई थप व्यावसायिक बनाउन स्थानीय प्रदेश तथा संघीय सरकारले सहुलियत दरमा व्याज तथा अनुदानका कार्यक्रमहरु ल्याउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्