१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्नुस्, ओली राष्ट्रवादी नेता हो– खिमलाल भट्टराई


0
Shares

काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्राईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै भट्टराईले बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भए पनि कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भन्नुभयो, ‘राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौं मेरो यो अनुरोध छ ।’

वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको दाबी गर्दै उहाँले सरकारका कामकारबाहीको बचाउ गर्नुभयो । कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको उहाँको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन भने त्यस्तो औचित्य के रहन्छ, प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैैधानिक हुनजान्छ भन्ने मलाई लाग्छ ।’

भट्टराईले जनतामा जाने कदमलाई अलोकतान्त्रिक भन्न सुहाउँछ भन्दै प्रश्न गर्नुभएको छ । सरकार बनाउनका लागि अदालतमा मुद्दा हालिएको प्रसङ्ग कोट्याउँदै उहाँले अदालतले सरकार बनाउन नसक्ने दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै ओलीलाई राष्ट्रियता विरोधी भनि प्रमाणित गर्न पूर्व प्रधानमन्त्रीहरूलाई चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘म चुनौती दिन चाहन्छु, केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मल भित्रबाट चोर औँलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन ।’ उहाँले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गर्नुभयो ।