२२ चैत्र २०८१, शुक्रबार | Fri Apr 4 2025


लिच्छवीकालीन बाैद्ध शालभञ्जिका कला संरक्षणकाे पर्खाइमा (भिडियो)


52
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । नेपाल मण्डलमा सदियौं पुराना लिच्छवीकालिन बौद्ध महाविहारहरू अहिले पनि अस्तित्वमा छन् । यस्ता महाविहार करिब चार रोपनी क्षेत्रफलमा बनाइएका हुन्थे ।

यसमध्ये काठमाडाैंकाे यटखा बहाः नामले प्रसिद्ध भाष्करकीर्ति महाविहार पनि एक हो । भाष्कर देवले स्थापना गरेको यो महाविहारमा नामसङ्गिती तुत गुथीले दैनिक धार्मिक कार्य गर्दै आएको छ । नवौं शताब्दीको बुद्धको मुर्ति कुँदिएको काठको तोरण यहाँको प्रमुख आर्कषण हो, जसले संरक्षणको बाटो कुरिरहेको छ ।

अर्को आर्कषण हो, मुल आगम घरमा रहेको शालभञ्जिका यक्षी अर्थात् यक्षणी देवी । जुन प्राचिन बौद्ध महाविहारको मौलिकता हो । यहाँ हाल चार वटा शालभञ्जिका यक्षीहरू छन् । जुन टुँडालकोे रूपमा महाविहारको छतलाई अड्याउन कलात्मक रूपमा राखिएको हुन्छ ।

पुरातत्व सम्पदा संरक्षणविज्ञ तेजरत्न ताम्राकार यी शालभञ्जिका सातौंदेखि आठौं शताब्दीतिरको हुनसक्ने बताउनुहुन्छ । काठको तोरणको रेडियोकार्वन डेटिङ परीक्षण गरे जस्तै यसको पनि परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ । महाविहार जीर्ण भएपछि जिणोद्धार गरेर यहाँका पुरातात्विक काठकला बचाएको ताम्राकार बताउनुहुन्छ ।

विगतमा यहिँबाट कलात्मक बौद्धकला तिब्बतमा फैलिएको थियो । पुरातात्विक हिसाबले महत्वपूर्ण भए तापनि यसको सुरक्षामा ध्यान दिइएको छैन । तत्कालीन हनुमानढोका हेरचाह अड्डाका प्रमुखसमेत रहनुभएका ताम्राकार महाविहारको संरक्षण र सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ । इटुम बहालमा रहेका आठौं शताब्दीका केही शालभञ्जिका विदेशमा भएकाले सुरक्षा दिन नसके यी पनि हराउन सक्ने उहाँको आशंका छ ।

नामसङ्गिती तुत गुथीले यहाँको मूर्त र अमूर्त कलाको संरक्षण गर्दै आएको छ । तर, अब यिनलाई वैज्ञानिक रूपमा संरक्षण गर्न ढिलाइ भइसकेको छ । यस्ता लिच्छवीकालीन काष्ठकलालाई संरक्षण र संवर्द्धन गर्न अभियान नै चलाउनुपर्नेमा ताम्राकारको जोड छ ।

यस्ता दुर्लभ काष्ठकला संरक्षण गर्न सके नेपाल काष्ठकलाको अनुसन्धान केन्द्र बन्नेछ । साथै कला पर्यटनको पनि विकास गर्न सकिन्छ । त्यसैले नेपालको पहिचानको रूपमा रहेको यस्ता कलालाई संरक्षण गर्नु आजको अपरिहार्य आवश्यकता हो ।