२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

युरोकपमा इंग्ल्याण्ड र डेनमार्कबीच दोस्रो सेमिफाइनल, २१ मा १२ खेल इंग्ल्याण्डकाे पक्षमा


0
Shares

एजेन्सी । १६औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् । दुई ठूला टीमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

इंग्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो । यस्तै राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । त्यसअघि डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । डेनमार्क घरेलु टोलीलाई स्तब्ध बनाएर अघि बढ्न चाहन्छ ।

इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।