
दिपेन्द्र अधिकारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई माग सम्बोधनका लागि ४८ घण्टे अल्टिमेटम दिएका आंशिक प्राध्यापकले विश्व विद्यालयसँगको वार्ता सकारात्मक भएको बताएका छन् ।
पठनपाठन ठप्प पारेर आन्दोलनमा रहेका आंशिक प्राध्यापकहरूको माग पूरा गर्न विश्वविद्यालयले १ महिनाको समय माग गरेपछि अहिलेका लागि पर्ख र हेरको अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा र आंशिक प्राध्यापकको वार्ता टोलीबीच १८ क्याम्पसहरूको स्रोतले धान्ने गरी आवश्यक दरबन्दीसम्बन्धी विवरण पठाउने र पदपूर्तिका लागि क्याम्पसले १ महिनाभित्र आवेदन खोल्ने सहमति भएको छ ।
अब बाँकी क्याम्पसहरूको विवरण पनि अघि बढाइने छ । पुस २३ गते भएको सहमति अक्षरस पालना गर्ने विश्वविद्यालयको प्रतिबद्धता पछि विश्वविद्यालयलाई समय दिन तयार भएको आंशिक प्राध्यापक संघका सहअध्यक्ष राजन ढुंगाना बताउनुहुन्छ ।
बहिष्कार गरिएको पठनपाठन के गर्ने भन्ने बारेमा आंशिक प्राध्यापक संघको बैठकबाट निर्णय लिइने जनाइएको छ । यद्यपि कुनै न कुनै रूपमा आन्दोलन भने जारी रहने आंशिक प्राध्यापकबाट वार्तामा सहभागी वार्ता टोली सदस्य हरिकृष्ण अर्यालको भनाइ छ । आंशिकलाई करार नभएसम्म आन्दोलन जारी रहने अर्याल बताउनुहुन्छ ।
वार्तामा कुनै लिखित सम्झौता नभएको र स्रोतको ग्यारेन्टी समेत नभएको भन्दै आंशिक प्राध्यापकभित्रको अर्को समूहले असन्तुष्टि व्यक्त गरेको छ । १५ वर्षदेखि करार र शिक्षण सहायक सरह सेवा सुविधा माग गर्दै आंशिक प्राध्यापक आन्दोलनमा छन् ।
प्रतिक्रिया दिनुहोस्