१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डेनमार्कलाई हराउँदै इंग्ल्याण्ड युरोकपको फाइनलमा, उपाधिकालागि इटालीसँग भिड्ने


0
Shares

एजेन्सी । डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो सेमिफाइनल खेलमा डेनमार्कका मिकेल डाम्सगार्डले ३० औं मिनेटमा पहिलो गोल गरे ।

डाम्सगार्ड तिनै खेलाडी हुन्, जो क्रिश्चियन एरिक्सनको दुखद दुर्घटनापछि टोलीको सुरुवाती एघारमा पर्न थालेका थिए । ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन कायरले आत्माघाति गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।

अतिरिक्त समयमा इंग्ल्याण्डले पेनाल्टी हान्ने अवसर पायो । ह्यारी केनको सुरुवाती प्रहारलाई डेनमार्ककका गोलकिपर कास्पर स्माइकलले रोकिदिए । तर रिबाउण्डमा केनले नैं गोल गरेपछि इंग्ल्याण्ड २–१ ले विजयी भयो ।

जितसँगै इंग्ल्याण्ड ५५ वर्षपछि कुनैपनि मेजर फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो । सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा तत्कालिन पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको इग्ल्याण्ड त्यसपछि विश्वकप र युरोकपको फाइनलमा पुग्न सकेको छैन ।

ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्याण्डले अब आइतवार हुने फाइनलमा बलियो प्रतिद्वन्द्वी इटालीको सामना गर्नेछ । सेमिफाइनलमा स्पेनलाई टाइ ब्रेकरमा पाखा लगाउँदै रोबर्टो म्यान्सीनीको इटाली फाइनलमा पुगेको हो ।