१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध


0
Shares

पर्वत । लगातारको वर्षाका कारण ठाउँ–ठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गएरातिदेखि नै अवरुद्ध भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अत्यधिक वर्षा भएकाले तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्काभेटर र सुरक्षा निकाय तैनाथी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले सडक खुलाउन नसकिएको हो । वर्षा रोकिएलगत्तै सडक खुलाउन प्रयास गरिने अधिकारीतले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा, काठमाडौं लगायतका ठाउँका लागि छुटेका सवारीसाधनहरू पर्वतको नयाँपुलमा अलपत्र परेका छन् । अन्यत्रबाट धौलागिरितर्फ आएका सवारी साधन पर्वतको दोविल्लामा अलपत्र बनेका छन् । सडक अवरुद्ध हुँदा बिरामीहरू समस्यामा परेका छन् ।

वर्षाका कारण दोविल्ला–फलेवास लगायत जिल्लाका अधिकांश ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । पर्वतमा गएरातिदेखि नै इन्टरनेट र टेलिफोन समेत अवरुद्ध भएकोमा केहीबेर अघिबाट सुचालु भएको छ ।