
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ल्याउनका लागि बिहीबारदेखि तीन उडान हुने भएका छन् । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउने लागिएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने छन् । सरकारले (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो । मन्त्रालयका अनुसार बिहीबार राति निगमको विमान खोप लिन चीन जाँदैछ । जहाजले असार २५ गते खोप ल्याउने छ ।
यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ५५ वर्षभन्दा माथिकालाई खोप लगाइने परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयाे ।
यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता अनुसार बाँकी खोप दिने तयारी भएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।
नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्