
प्रज्ञा तिमल्सीना
काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै कोभिड–१९ संक्रमितको संख्या उकालो लागेको छ । पछिल्लो समय प्रदेश १, बागमती र गण्डकी प्रदेशका ९ जिल्लामा संक्रमितको संख्या बढ्दो छ । परीक्षणको तुलनामा कर्णाली प्रदेशमा बढी संक्रमित भेटिएका छन् भने प्रदेश २ का ८ जिल्लामा संक्रमण घट्दै गइरहेको सरकारी तथ्याङ्क छ ।
प्रदेश १ को झापा, मोरङ, सुनसरी, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र चितवन तथा गण्डकी प्रदेशको कास्की जिल्लामा हाल दिनहुँ संक्रमितको सङ्ख्या बढेको छ । तर, परीक्षणको तुलनामा भने कर्णाली प्रदेशमा संक्रमण बढी देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार असार १ गतेदेखि प्रदेश १ मा २५ हजार ७७ जनामा गरिएको परीक्षणमा ८ हजार ८ सय ३७ जनामा संक्रमण देखिएको छ । यो संख्या परीक्षणको ३५ दशमलव २३ प्रतिशत हो ।
बागमती प्रदेशमा ८७ हजार ६ सय १३ जनामा भएको परीक्षणमा १६ हजार ६ सय ६७ जना व्यक्ति संक्रमित भएका छन् । यो संख्या परीक्षणको १९ प्रतिशत हो । गण्डकी प्रदेशमा ४४ दशमलव ३७ प्रतिशतमा संक्रमण देखिएको छ । त्यहाँ १८ हजार ९ सय ८५ जनामा भएको परीक्षणमा ८ हजार ४ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । तथ्याङ्कअनुसार बागमतीमा परीक्षण बढी भए पनि संक्रमणदर भने गण्डकी प्रदेशको बढी छ ।
कर्णाली प्रदेशको परिदृश्य भने फरक छ । कर्णालीमा जेठ महिना यता ७ हजार ६ सय ४१ जनामा संक्रमण देखिएको छ । १४ हजार ८ सय १६ जनामा गरिएको परीक्षणमा ५१ दशमलव ५७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो । कर्णालीमा असार १ गते देखि २३ गते सम्म १ हजार ८ सय ४४ जनाको परीक्षण भएकोमा ८ सय ६७ जना अर्थात ४७ प्रतिशत व्यक्तिमा संक्रमण देखियो । कर्णालीमा दिनहुँ ५० प्रतिशतभन्दा धेरैमा संक्रमित भेटिएको सरकारी तथ्याङ्क छ ।
प्रदेश २ का ८ वटै जिल्लामा भने संक्रमण घट्दो क्रममा देखिएको छ । सुदुरपश्चिम प्रदेशको कैलाली बाहेक अन्य तीन जिल्लामा संक्रमण घट्दो क्रममा छ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्या पुन बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णाली र गण्डकी प्रदेशमा संक्रमणदर उच्च देखिएका कारण जोखिम अझै नहटेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल बताउनुहुन्छ ।
गत वैशाख महिना भर स्वास्थ्य संरचनाले थेग्नै नसक्ने गरी बढेको संक्रमण केही घट्दो क्रममा देखिएको थियो । अस्पताल भर्ना हुनेको संख्यामा केही कमी आएको पाइए पनि संक्रमणको जोखिम भने उच्च देखिन्छ । निषेधाज्ञा खुकुलो भएसँगै परीक्षणको दायरा पनि घटेको छ । जसका कारण संक्रमितको संख्या कम देखिएको हो । निषेधाज्ञा खुकुलो भएसँगै घटेको परीक्षणको दायरा र बढ्दो संक्रमणदरले कोरोनाको तेस्रो लहर निम्तिने जोखिम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्