२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


परीक्षा बोर्ड अलमलिँदा ४ लाख विद्यार्थीकाे भविष्य अन्योलमा


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । कक्षा १२ का विद्यार्थी अहिले परीक्षा भन्दा पनि परीक्षा केन्द्रबाट हुनसक्ने कोभिड–१९ संक्रमणको डरमा छन् । एकातिर परीक्षा नहुँदा समय खेर गयो, अर्कोतिर भर्चुअल कक्षा प्रभावकारी भएन र परीक्षाको तयारीमा जुट्नु छ । कक्षा १२ मा करिब ४ लाख विद्यार्थी यस्तै अन्योलमा छन् ।

विद्यार्थीले अनलाइनबाटै परीक्षाको माग गरिरहँदा राष्ट्रिय परीक्षा बोर्ड भने शतप्रतिशत पूर्णाङ्कको परीक्षा लिन सरकारसँग अनुमति मागिरहेको छ । आफूहरूले कुनै नयाँ मोडलको विषयमा नसोचेकोले पूरानै मोडलमा भौतिक उपस्थित गराएरै परीक्षाको लागि सरकारसँग स्वीकृति मागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल बताउनुहुन्छ ।

गत वर्ष ४० पूर्णाङ्कको परीक्षा लिँदै बाँकी ६० प्रतिशत आन्तरिक मूल्याङ्कनबाट अंक दिइएको थियो । बोर्डले गत जेठ २६ गतेबाट परीक्षा हुने तालिका सार्वजनिक गरे पनि कोभिडको दोस्रो लहरले गर्दा हुन सकेको थिएन । बोर्डको प्रस्ताव मन्त्रालय हुँदै सीसीएमसीसम्म पुगेको छ ।

विद्यालय सञ्चालकहरू भने पहिला कोभिड विरुद्धको खोप लगाएर ढिलै भए पनि भौतिक रूपमा परीक्षा गर्नुपर्ने बताउँछन् । पटक–पटक परीक्षा नहुँदा अन्तर्राष्ट्रिय स्तरमा दिइने मान्यता र देशभित्रकै विश्वविद्यालयका परिधिमा पनि उनीहरू नपर्न सक्ने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का वरिष्ठ उपाध्यक्ष युवराज शर्मा बताउनुहुन्छ ।

परीक्षा लिनुपर्ने थाहा भएको राज्यले समयमा तयारी गर्न नसकेकोमा अभिभावक असन्तुष्ट छन् । कोभिडको समस्या आएको दुई वर्ष भइसक्दा पनि सरकारले उचित व्यवस्थापन र बालबालिकाका लागि सुरक्षाका उपायमा ध्यान नदिँदा समस्या भएको अभिभावक संघका अध्यक्ष केशव पुरी बताउनुहुन्छ ।

विद्यालय तहबाट विश्वविद्यालय तहमा पुग्नुपर्ने तथा अन्तराष्ट्रिय रूपमा मान्यता पाउनुपर्ने भएकाले कक्षा १२ मा नाम मात्रको परीक्षा गर्नुहुँदैन । होम सेन्टरमा परीक्षा नगर्ने राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा अभिभावकको असन्तुष्टि छ ।

विश्व विद्यालयहरूले भौतिक रूपमा परीक्षा लिने प्रक्रिया अघि बढाएका छन् । डेढ लाख विद्यार्थी रहेको स्नातक दोस्रो वर्षको स्थगित परीक्षा भौतिक रूपमा गराउने तयारी गरेको छ भने सोही संख्या हाराहारीको प्रथम वर्षको परीक्षा समेत भौतिक रूपमा गराउने तयारीमा त्रिभुवन विश्वविद्यालय पुगेको छ ।

पहिले नै अनलाइन परीक्षाको अभ्यास गरिसकेको काठमाडौं विश्वविद्यालयले भौतिक रूपमा परीक्षा लिने तयारी गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले पनि भौतिक रूपमा परीक्षाको तयारी थाल्दा पोखरा विश्वविद्यालयमा परीक्षाको विषयमा अनिर्णित छ । शैक्षिक क्षेत्र भौतिक रूपमा सञ्चालन गर्नुअघि खोपको माग गरिएको छ ।