
रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै पार्टीको केन्द्रदेखि इकाई तहसम्मको नेतृत्व लिने होडबाजी हुन थालेको छ ।
धमाधम उम्मेदवारी घोषणा गर्ने क्रममा केन्द्रीय सभापतिका लागि आधा दर्जन नेता कम्मर कसेर लागेका छन् । तर, जोडघटाउमा लागेकाले कसैले पनि समूह नै निर्माण गर्न सकेका छैनन् ।
१३औं महाधिवेशनमा वर्तमान सभापति शेर बहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गरी जम्माजम्मी तीन जना अध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो । तीन गुटका तीन नेताले आ–आफ्नो गुटको विश्वास जित्न नसकेपछि अहिले अध्यक्ष हुन खोज्नेको संख्या दोब्बर भन्दा बढी भएको छ ।
सभापति देउवाले फेरि पार्टी हाँक्न चाहनुभएको छ । आफूले फेरि पनि सभापतिमा उठ्ने विचार गरेकाले सहयोगका लागि उहाँले सबैसँग आग्रह गर्नुभएको छ । आग्रह मात्र नभएर बेलाबेलामा आफूनिकट नेता तथा कार्यकर्ताको भेलासमेत राख्दै आउनुभएको छ ।
पार्टीलाई फेरि पुरानो स्थितिमा पु¥याउने देउवाको नारा छ । तर, देउवा समूहबाट विद्रोह गर्दै उपसभापति विमलेन्द्र निधि पनि पार्टी नेतृत्व हाँक्न तम्सिनु भएको छ । आफ्नो पक्षमा पार्टीका सबैजसो नेता तथा कार्यकर्ताहरू सकारात्मक रहेको उहाँको जिकिर छ ।
१३ औं महाधिवेशनमा सभापति हारेर घाइते भएको भन्दै फेरि उठ्ने चाहना वरिष्ठ नेता पौडेलले पनि प्रकट गर्नु भएको छ । तर, पौडेलको तयारी निकै सुस्त देखिन्छ ।
पौडेल समूहबाट अन्य नेताले पनि पार्टी नेतृत्वमा उठ्ने घोषणा गर्नु भएको छ । महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रुपमै सभापतिमा उम्मेदवारी दिने बताइसक्नुभएको छ । महामन्त्री भइसकेकाले अब आफूले नछाड्ने अडानमा उहाँ हुनुहुन्छ ।
पूर्व महामन्त्री प्रकाशमान सिंहले पछिल्लो समय नेतृत्व लिन कम्मर कसेर लाग्नुभएको छ । उपसभापति भइसकेकाले पार्टी सभापतिका लागि आफूले स्वतः दाबी गर्नपाउनुपर्ने उहाँको तर्क छ ।
उसो त कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको सभापति पदको उम्मेदवारीको विषय पनि चर्चामा नै छ । आफूले एकपटकको लागि मात्र सभापति बन्ने प्रतिबद्धता गर्दै उहाँले दोस्रोपटक अरुले उम्मेदवारी दिन आग्रह गरे पनि नदिने बताउनुहुन्छ ।
पार्टीमा पुस्तान्तरण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्दै पौडेल समूहकै वरिष्ठ नेता, महामन्त्री र पूर्व महामन्त्रीलाई काउन्टर दिँदै अगाडि बढेकाले डा. शेखरको उम्मेदवारी चर्चामा रहेको हो ।
तर, पार्टी नेतृत्व लिन्छु भन्ने कुनै पनि नेताले आधिकारिक रूपमा टीमको घोषणा गर्न सकेका छैनन् । भलै देउवा र डा. शेखरले आन्तरिक रूपमा टीमको तयारी गरेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्