
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका सम्वन्धमा सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गर्नुभएको छ ।
मन्त्रिपरिषद् गठन र चयनसम्बन्धी विषय संविधानले प्रधानमन्त्रीको स्वविवेकमा छोडेको उहाँको दाबी छ । कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट परेको थियो । ओलीको कदमलाई अदालतले अन्तरिम आदेशमार्फत खारेज गर्दै प्रधानमन्त्रीसँग लिखित जवाफ मागेको थियो । ओलीले १७ बुँदे जवाफ अदालतमा पेस गरेका हुन् ।
‘प्रतिनिधिसभा विघटन भएको अवस्थाको प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषदलाई विस्तार गर्न, कार्यविभाजन गर्न तथा कुनै मन्त्रालयको जिम्मेवारी कुनै मन्त्रीलाई सुम्पन नसक्ने भन्ने हुँदैन,’प्रधानमन्त्री ओलीले जवाफमा लेख्नुभएको छ ।
यस्तै उहाँले मन्त्तिपरिषद् विस्तारविरुद्ध सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु संविधान विपरीत भएको बताउनुभएको छ । मुलुकको शासन व्यवस्थाको सञ्चालन कार्यकारीले गर्नुपर्ने र त्यस्तो काममा हुने समस्याको समाधान कार्यकारीले नै गर्नुपर्ने भन्दै उसलाई मन्त्रिपरिषद थप घट गर्न रोक लगाउन नहुने उनको जिकिर छ ।
प्रतिनिधिसभाको निर्वाचनका लागि प्रतिनिधिसभा विघटन भएको मितिले ६ महिनाको अवधिभित्र नै निर्वाचन हुने भएकाले प्रतिनिधिसभा विघटन भएको अवस्थाको प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद्लाई विस्तार गर्न, कार्यविभाजन गर्न तथा कुनै मन्त्रालयको जिम्मेवारी कुनै मन्त्रीलाई सुम्पन नसक्ने भन्ने नहुने तर्क पेश गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्