
एजेन्सी । पाकिस्तानविरुद्धको पहिलो एक दिवसिय क्रिकेट म्याच इंग्ल्याण्डले ९ विकटले जितेको छ । वेल्सको कार्डीफमा गएराति भएको खेलमा इंग्ल्यान्डको युवा टोलीले शानदार प्रदर्शन गरेको हो ।
नियमित टोलीका ९ जना खेलाडीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि हिजोको खेलको लागि इंग्ल्याण्डले पूर्णत नयाँ टोली घोषणा गरेको थियो । टोलीका ११ मध्ये ५ जना खेलाडीले इंग्लीश राष्ट्रिय टोलीका लागि डेब्यु गरेका हुन् ।
तर पनि पाकिस्तान विरुद्ध घरेलु टिम इंग्ल्याण्ड हावी भयो । खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको पाकिस्तानले ३५ ओभर २ बलमा अलआउट हुँदै १ सय ४१ रन मात्रै बनाउन सक्यो ।
जवाफमा १ सय ४२ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २१ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । इंग्ल्यान्डको जितमा डाविड मालनले अविजित ६८ रन तथा ज्याक क्रलेले अविजित ५८ रन जोडे ।
जितसँगै इंग्ल्यान्डले तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । श्रृंखलाको दोस्रो खेल भोलि लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्